Qualitative Education is Today's Necessity
दुई साताअघि अस्ट्रेलियन सरकारले आफ्नो शिक्षा नीति तथा कार्यक्रममा आप्रवासन रणनीति सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय विद्यार्थीको संख्यामा कटौती गर्ने र सेवासुविधामा कटौती गर्ने निर्णय गरेपछि नेपाली विद्यार्थीहरूमा पनि त्रासदी छाएको छ। उच्च अध्ययनका लागि आएका अन्तर्राष्ट्रिय विद्यार्थीको पढाइ र काम गराइमा तालमेल नभएका कयैन् प्रमाण फेला परेपछि सरकारले उनीहरूको तथ्यांक खोतल्न थालेको थियो। सोही कारण केही नेपाली विद्यार्थीहरूको प्रवेशाज्ञा रद्द भएको र कयैनमाथि प्रश्न उठेपछि विद्यार्थीहरूमा त्रासदी छाएको हो। ‘आगामी केही वर्ष हामी विदेशी विद्यार्थीको संख्या बढाउन चाहँदैनौं,’ अस्ट्रेलियाकी गृहमन्त्री क्लेर ओनीलले अस्ट्रेलियाको संघीय सरकारको दश वर्षे आप्रवासन रणनीति सार्वजनिक गर्दै भनेकी थिइन्। नयाँ वर्षको सुरूदेखि नर्सिङमा काम गर्ने विद्यार्थीहरूको समेत काम गर्ने समयसीमा तोकिएको छ। जसबाट हजारौं विद्यार्थी प्रभावित हुने पक्का छ। अस्ट्रेलियामा महत्वपूर्ण योगदान गर्दै आएको नेपालजस्तो देशले नयाँ आप्रवासन नीतिलाई अवसरको रूपमा लिनुपर्छ। चीन र भारतजस्ता देशहरूसँगै तुलना गर्दा पनि नेपाली आप्रवासीले यहाँको अर्थतन्त्रमा ठूलो हिस्सा योगदान गर्दै आएका छन्। ‘अस्ट्रेलिया सरकारको चिन्ता आप्रवासीको संख्या होइन, बरू तीव्र वृद्धिदर हो। पछिल्लो दुई वर्षमा यो दर अचाक्ली बढेको थियो। त्यसैले नयाँ आप्रवासन रणनीतिको प्रभावलाई हामीले संकटको मानसिकताबाट मात्र हेर्नुहुँदैन,’ सिड्नीको प्रतिष्ठित विश्वविद्यालय युएनएसडब्लुका प्राध्यापक कृष्ण श्रेष्ठले भने।
Dinesh Bishwakarma
July 31, 2024, 4:36 a.m.